Wednesday, March 8, 2017

राजविराज गोलीकाण्डको छानविन गर्न रैथाने एकता परिषद्को माग

Sutra Media
काठमाण्डौ, २४ फागुन- 
हिजो सप्तरीको राजविराजमा प्रहरीको गोली प्रहारबाट केही व्यक्तिको मृत्यु भएको बिषयमा रैथाने एकता परिषद्ले दुखः व्यक्त गरेको छ । आज परिषद्का संयोजक सन्तोष बराइलीले प्रेस बिज्ञप्ति  जारी गर्दै सो कुरा उल्लेख गरेका हुन् ।
परिषदद्वारा जारि बिज्ञप्ति जस्ताको तस्तै:
पत्रकार मित्रहरु, 
हिजो सप्तरीको राजविराजमा प्रहरीको गोली प्रहारबाट केही व्यक्तिको मृत्यु भएकोमा रैथाने एकता परिषद गहिरो दुख व्यक्त गर्दछ र मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । 
तर, त्यहाँ प्रहरीले गोली चलाउनुपर्ने परिस्थिति थियो कि थिएन तथा त्यो परिस्थिति के कारणले बन्यो भन्ने विषयमा सत्यतथ्य छानविन गर्न एउटा शक्तिशाली आयोग बनाइनु आवश्यक छ । रैथाने एकता परिषद तुरुन्तै शक्तिशाली आयोग बनाएर सप्तरी घट्नाको सत्य तथ्य सार्वजनिक गर्न र दोषीहरुमाथि कार्वाही गर्न माग गर्दछ । मृतकहरु रैथाने तथा वंशज मधेसी भएको स्पष्ट भएकाले उनीहरुको हत्याको कारण स्पष्ट हुनुपर्छ तथा दोषीमाथि हदै सम्मको कानुनी कारवाही हुनैपर्छ ।र, मृतकका परिवारलाई तत्काल उचित क्षतीपुर्ती उपलब्ध गराउन सरकारसगँ माग गर्दछ ।
शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्नु जुनसुकै राजनीतिक दलको अधिकार हो । रैथाने एकता परिषदले यही धारणा स्पष्ट राख्दै हिजो सिराहाको लाहानमा प्रदर्शन गरेको थियो । त्यसैले हिजो नेकपा एमालेले मेची महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा सभा गर्नु उसको अधिकार हो । यसैगरी, एमाले अभियान र सभाविरुद्ध कालो झण्डा देखाउनु र शान्तिपूर्ण विरोध गर्नु पनि मधेसी मोर्चाको अधिकार हो । तर, अभियान र सभा भाड्न ढुङ्गामुढा गर्नु, पेट्रोल बम र कुकर बम प्रहार गर्नु र हिंशात्मक गतिविधी गर्नु  मधेसी मोर्चाको अलोकतान्त्रिक, एकात्मकवादी र अहंकारवादी सोच र प्रवृति हो । रैथाने एकता परिषद मोर्चालाई यस्तो सोच र प्रवृति त्याग्न र लोकतान्त्रिक सोच र प्रवृति अंगाल्न हार्दिक आह्वान गर्दछ । 
स्थानीय निर्वाचन मुलुकको अहिलेको आवश्यक्ता हो । स्थानीय निर्वाचन र संविधान संशोधनबीच कुनै साइनो छैन । त्यसैले संविधान संशोधनको बहाना अघि सारेर दुई दशकदेखि हुन नसकेको स्थानीय निर्वाचन रोक्न खोज्नु मुलुकलाई अझै अस्थिर राख्ने षड्यन्त्र मात्र हो । यस्तो षड्यन्त्रको शिकार भएर देशलाई अस्थिरतामा राखिराख्न खोज्ने बिदेशीको मतियार नबन्न मधेसी मोर्चा र त्योसँग आबद्ध दलहरुलाई रैथाने एकता परिषद् आह्वान गर्दछ । 
राजविराजमा भएको दुखद घटना अब दोहोरिन नदिनु नेपालको हित चाहने सबै राजनीतिक दल, संघ संस्था, व्यक्तिहरुको कर्तव्य हो । रैथाने एकता परिषद अब त्यस्तो परिस्थिति आउन नदिन सम्पूर्ण राजनीतिक दलहरुलाई एउटै टेबलमा आएर छलफल गर्न तथा सहमति बनाउन आह्वान गर्दछ । स्थानीय स्तरमा तनाव कम गर्न र सहमतिको वातावरण निर्माणका लािग सघाउन रैथाने एकता परिषद आफ्ना सम्पूर्ण नेता—कार्यकर्तालाई निर्देशन दिन्छ । 


संयोजक
सन्तोष बराइली
रैथाने एकता परिषद
२०७३।११।२४    

No comments:

Post a Comment